पोखरामा सुन्तलाको व्यापार बढ्यो

तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडालगायतका बजारमा थोकरुपमा बिक्री हुने गरेको छ । किसानले फलफूलका व्यापारीसँग मिलेर सात प्रतिशत मुनाफा लिएर सुन्तला बिक्री गर्छन् । पोखराबाट वर्षेनी रु २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने यस व्यवसायमा संलग्न केशव मैनालीले बताउनुभयो ।

सुन्तलाको बोक्रा यतिखेर हरियोनै देखिन्छ । तर, तिहारको मागलाई ध्यानमा राखी विगत तीन चार दिनदेखि सुन्तला पोखरामा भित्रिन थालिएको हो । बोक्रा हरियो भए पनि मीठो रहेको स्थानीय ऋषिराम बरालले बताउनुभयो । स्याङ्जाको भिरकुट नगरपालिकाको हेलु बस्ने किसान डब्बलप्रसाद अर्यालले आफूले रु ५० लाखको सुन्तला गत वर्ष बिक्री गरेको बताउनुभयो ।

अर्का, व्यापारी चन्द्र गुरुङले आफूले सुन्तला किसानसँग खरीद गरेर पोखराका साथै लहान, हेटौँडा र पर्साका सुन्तला व्यापारीलाई बिक्री गर्ने गरेको बताउनुभयो । यसको व्यापार पहिलोपल्ट शुरु गर्नुभएका दिलबहादुर गोतामेले तनहुँको बगैचाबाट सुन्तला खरीद गरिएको बताउनुभयो । पहिलोपटक भएकाले मूल्यसाथै सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहेको बताउनुभयो । बजारमा यतिखेर स्थानीयसाथै तराई पूर्वी क्षेत्रका व्यापारीको सुन्तला किनमेलमा व्यस्त छन् । टाढाका व्यापारीले ट्रकबाट सुन्तला लान्छन् । केही दिनपछि ठूलो परिमाणमा सुन्तलाको कारोवार हुने यस व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *